नेपाली-अमेरिकी सैन्य अभ्यास काठमाडौंमा

News

काठमाडौं : सहरी विद्रोह सामना गर्ने विषयमा नेपाल र अमेरिकी सेनाबीच सैन्य अभ्यास हुने भएको छ। संभावित सहरी विद्रोह र त्यसले उत्पन्न गराउन सक्ने चुनौतिका विषयमा नेपाल र अमेरिकी सेनाका विशेष फौजबीच संयुक्त सैन्य अभ्यास हुने भएको हो।

आगामी फागुन ५ र ६ गते काठमाडौंमा हुने सैन्य अभ्यासमा (तालिम) नेपाली र अमेरिकी सेनाका विशेष फौज सहभागी हुँदै छन्। ‘ब्यालेन्स नेल’ नाम दिइएको सैन्य अभ्यास छाउनीस्थित महावीर गण (रेञ्जर)मा हुनेछ। उक्त सैन्य अभ्यासमा अमेरिकी सेनाका ९ जना र नेपाली सेनाका ३६ जना विशेष फौज सहभागी हुने सैनिक स्रोतले जनाएको छ। सहरी विद्रोहका अलाबा यो सैन्य अभ्यासमा मानव अधिकार, अन्तर्राष्ट्रिय मानवीय कानुन, लडाइमा घाइतेको उपचारपद्धतिलगायत विषयमा सैद्धान्तिक अनुभवको आदन प्रदान हुनेछ।

विभिन्न विषयका प्रशिक्षकसहित अमेरिकी विशेष फौज फागुन पहिलो साता काठमाडौं आउने छन्। नेपाल र अमेरिकी सेनाबीचका विशेष फौजबीच विभिन्न विषय केन्द्रित सैन्य अभ्यासहरू विगत लामो समयदेखि हुँदै आइरहेको छ। नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यासले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदान प्रदान गर्न सहयोग गर्ने छ।

नेपाली सेनाको अन्य सैनिक संगठनसँग सहकार्य गरी सैनिक कारवाही सञ्चालन गर्न सक्ने क्षमतामा समेत अभिवृद्धि गर्न विशेष सहयोग पुग्ने छ। संयुक्त तालिम÷अभ्यासबाट दुई देश बीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने नेपाली सेनाले बताउँदै आएको छ।

नेपाली सेनाले आफ्ना फौजलाई तयारी अवस्थामा राख्न विभिन्न मुलकका फौजबीच फरक फरक विषय केन्द्रित सैन्य अभ्यास तथा तालिम गर्दै आएको छ। सन् २०१८ मा ‘ब्यालेन्स नेल’ अन्तर्गत नेपाली र अमेरिकी सेनाबीच तीनवटा सैन्य अभ्यास भएका थिए। सन् २०१९ मा नेपाली र अमेरिकी सेनाबीच दुईवटा सैन्य अभ्यास भएका थिए। नेपाली सेनाले सैन्य कुटनीतिलाई बलियो बनाउन विभिन्न मुलुकका सैनिकसँग सैन्य अभ्यास गर्दै आएको छ। नेपाली र भारतीय सेनाबीच प्रत्येक वर्ष ‘एक्सरसाइज सूर्यकिरण’ हुँदै आएको छ। नेपाली र भारतीय सेनाबीचको उक्त सैन्य अभ्यास नेपाल र भारतका विभिन्न स्थानमा हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *