अध्यागमनमा अमेरिकी सफ्टवेयर रद्द गरी नेपाली पोर्ट

News

काठमाडौं : गृह मन्त्रालयले अध्यागमनमा अमेरिकी सफ्टवेयर हटाएर बायोमेट्रिक्ससहितको ‘नेपाली पोर्ट’ नामक आफ्नै सफ्टवेयर राखेको छ। अध्यागमन विभागले सबै नाकामा यो सफ्टवेयर परीक्षण गरिरहेको छ। प्रधानमन्त्री केपी ओलीले सोमबार अपराह्न उद्घाटन गरेपछि अध्यागमन नाकामा अत्याधुनिक ‘बोर्डर कन्ट्रोल सिस्टम’ कार्यान्वयनमा आउनेछ। नेपाली पोर्ट अत्याधुनिक बोर्डर कन्ट्रोल प्रणाली हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १२ अध्यागमन नाकामा बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणाली जोडिनेछ।

अध्यागमनमा बायोमेट्रिक्स प्रणाली लागू भएसँगै यात्रुको तस्बिर र हस्तरेखा रेकर्ड हुनेछ। यसले यात्रुको आँखाको नानी (रेटिना)समेत पढ्न र त्यसको रेकर्ड राख्न सक्नेछ। नेपाली पोर्ट लागू भएसँगै अध्यागमनमा संदिग्ध व्यक्तिले गर्न लागेको यात्राको सहजै विश्लेषण गर्न सकिन्छ।

विभागका महानिर्देशक ईश्वरराज पौडेलले नेपाली पोर्ट लागू भएपछि धेरै सुरक्षा चुनौती घट्ने विश्वास व्यक्त गरे। ‘विगतमा अध्यागमनको सुरक्षा अवस्था भयावह थियो, भिसा लिन विदेशी ठमेल पुग्थे’, महानिर्देशक पौडेलले अन्नपूर्णसँग भने, ‘त्यस्तो गतिविधि अब रोकिनेछ।’

आगमन र प्रस्थान दुवै पटक यात्रुको बायोमेट्रिक्स लिइनेछ। एकपटक बायोमेट्रिक्स लिइसकेका यात्रु पुनः अर्काको राहदानी दुरुपयोग गरी यात्रा गरे त्यस्ता व्यक्ति तत्काल पक्राउ पर्न सक्छन्। ‘यात्रुको बायोेमेट्रिक्स फरक प बित्तिकै ती यात्रु शंकास्पद ठहरिन्छन्। हामी अनुसन्धान गर्छौं’, महानिर्देशक पौडेलले भने। नाबालक, अपांगता भएका व्यक्तिको भने बायोमेट्रिक्स लिइनेछैन।

इन्टरपोलको डाटामा पनि अनलाइन पहुँच हुनेछ, जसले गर्दा इन्टरपोलमा सूचीकृत संदिग्धको आवागमन रोकिनेछ। नाकामा बायोमेट्रिक्स प्रणाली नहुँदा अर्काको राहदानी प्रयोग गरी संदिग्ध व्यक्तिले सहजै अध्यागमन पार गरेका धेरै उदाहरण छन्।

विभागले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, वैदेशिक यात्रा अनुमति शाखा, नेपाल प्रहरीको स्पेसल ब्युरोसँग नेपाली पोर्ट जोडेको छ। नेपाल आउने पर्यटकको गतिविधि नियाल्न प्रत्येक होटलमा सफ्टवेयरको पहुँच दिने तयारी छ। मन्त्रालय परिसरमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआईडीसी)मा नेपाली पोर्टको छुट्टै सर्भर रहनेछ। पूर्ण सुरक्षित सर्भरमा नेपालको कन्ट्रोलमा सबै डाटा रहन्छन्। डाटा दुरुपयोगको सम्भावना छैन। अध्यागमन नाकामा बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणालीले बोर्डरबाट हुने अवाञ्छित व्यक्तिको आवागमन रोक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *