कांग्रेसले कमण्डलु लिएर उपसभामुख मागेको छैन : मिनेन्द्र रिजाल

News

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले कांग्रेस उपसभामुखका लागि कमण्डलु लिएर संसदमा नआएको बताएका छन्। प्रमुख प्रतिपक्षी दलका सांसद रिजालले सभामुखमा अग्निप्रसाद सापकोटालाई सत्तारूढ दलको यथेष्ट मत रहेको र आफ्नो उम्मेदवार तोकिसकेको स्थितिमा सभामुख तटस्थ रहनुपर्ने व्यक्ति भएकाले आफ्नो पार्टीले उम्मेदवारी नदिने निर्णय संसदीय दलको बैठकले गरेको जानकारी दिँदै यस्तो बताएका हुन्। कांग्रेसले उपसभामुख पद पाउनका लागि सभामुखमा उम्मेदवारी नदिएको भन्नु गलत हुने बताए।

‘संविधानले दुई पदमा फरक–फरक पार्टीका उम्मेदवार हुनुपर्ने उल्लेख गरेकाले त्यसमा सत्तापक्षले नै विचार गर्ला तर हामी उपसभामुखका लागि हातमा कमण्डलु लिएर हिँडेका छैनौँ’, रिजालले भने, ‘सभामुखका उम्मेदवारका बारेमा आज उत्पन्न आशङ्का मेट्न भोलिका दिनमा आश्वस्त हुने गरी काम गर्न सक्नुहोस्। हामी सहयोग गर्न तयार छौँ।’

रिजालले व्यक्तिका विषयमा कांग्रेसको समर्थन र विरोध नरहेको पनि स्पष्ट गर्दै जनाउँदै विधिको शासन र लोकतान्त्रिक चरित्रका आधारमा जनता र संसद् सदनप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए। बैठकमा सभामुखको हैसियतमा ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एकमात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गरेका थिए।

बैठकमा सभामुखको उम्मेदवारको सूचनासम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पारदर्शिता र जवादेहिताका आधारमा सदनका काम कारवाहीमा जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसमा सिङ्गो संसद्लाई विश्वासमा लिएर काम गर्नुहुनेछ भन्ने विश्वासका साथ सापकोटालाई प्रस्ताव गरिएको बताए।

बैठकमा उनको विकल्पमा अरू कुनै उम्मेदवारी नपर्नुले आफूहरुको चयन उपयुक्त रहेछ भन्ने देखिएको उनले बताए। प्रस्तावमाथि सोही पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ र ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए। तीन दशक लामो शैक्षिक क्षेत्रमा अनुभवका साथै जनयुद्ध र शान्ति प्रक्रियामा भूमिका निर्वाह गरेकाले सापकोटाको उम्मेदवारी उपयुक्त भएको दाबी घर्तीको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *